काठमाडौं । महाधिवेशन आयोजक कमिटि खारेज गरी केन्द्रीय कमिटि बैठक बोलाइएसँगै नेकपा एमालेका दुवै पक्षका नेताहरुले भेटवार्तालाई बढाएका छन् ।
काठमाडौंमा सम्पन्न बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ तथा शंकर पोखरेल सहभागी थिए।
त्यसैगरी माधव नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे तथा भीम आचार्य सहभागी थिए। शीर्षतहमा देखिएको विवाद समाधानका लागि भन्दै यी नेताहरुबीच निरन्तर बैठक बसिरहेको छ।
बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ।
आजको बैठकमा पार्टी अध्यक्ष ओलीले गरेको महाधिवेशन आयोजक कमिटी विघटनपछि उत्पन्न राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो।
साथै, आजको बैठकमा ओली पक्षका नेताहरुले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षलाई पनि सहभागी हुन आग्रह गरेका थिए।
नेपाल पक्षले भने केही विषयमा थप छलफल आवश्यक रहेकाले बैठक सार्न प्रस्ताव गरेको एक नेताले बताए। बिहानको बैठकमा भएका छलफलबारे शीर्षतहमा सहमति खोज्ने दुवै पक्षका नेताले बताएका छन्।
शीर्ष तहसँग छलफल गरी बिहीबार बेलुका पुनः बस्ने गरी बिहानको बैठक सकिएको सहभागी एक नेताले बताए।आजै बैठकबारे रणनीति बनाउने नेपाल पक्षको स्थायी कमिटि बैठक पनि बस्दै छ ।