Homeब्रेकिङ न्युजनेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समयसीमा आज सकिँदै

नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन ओलीले दिएको समयसीमा आज सकिँदै

Sagun Sandesh

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा आज बेलुका ५ बजे सकिँदैछ ।

गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए उनीहरु एमाले नै नरहने चेतावनी समेत दिनुभएको थियो ।

ओलीको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने देखिएको छ ।

यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न गरेको प्रयास समेत असफल भएको छ ।

आइतबार बिहान ओली पक्षका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेर संयुक्त विज्ञप्तिका लागि आग्रह गरेका थिए ।

उनीहरुको आग्रहलाई नेता नेपालले सकारात्मक ठान्दै नेताहरुबीच भएको सहमतिको मस्यौदा ल्याउन र कार्यदल व्युत्याउन सुझाव दिएपनि ओली पक्ष कार्यदल व्युत्याउन प्रतिवद्ध भएन । साथै तयार भएको भनिएको मस्यौदा लिएर ओली पक्षीय नेताहरु पुन नेपाललाई भेट्न समेत गएनन् ।

यो प्रयास असफल भएपछि ओली पक्षले आइतबार साँझ पुन माधव पक्षीय नेता भीम रावललाई बालुवाटारमा बोलाएर भेट्नुभएको थियो । ओली र रावलबीच के कुराकानी भयो भन्ने खुलेको छैन ।

बालुवाटार जानुअघि रावलले कोटेश्वर पुगेर नेता नेपालसँग छलफल गर्नुभएको थियो । ओलीले मुखले एकताका लागि प्रयास गरेको देखाउन खोजेपनि व्यवहारमा एकताको पक्षमा नरहेको स्पष्ट भएको नेपाल पक्षको आरोप छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय