काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेश बगरमा आयोजित कार्यक्रममा ओलीले बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताउनुभएको हो ।
“तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं,” उहाँले भन्नुभयो ।
असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा प्रधानमन्त्री ओली आज बाढीग्रस्त क्षेत्र पुग्नुभएको छ । उहाँले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय आदि सरकारले बनाउने बताउनुभयो । घाइतेको उपचार सरकारले नै गर्ने उहाँले आश्वासन दिनुभयो । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उहाँकोे भनाइ छ ।