काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले दल दर्ता गराएका छन् ।
आयोग स्रोतका अनुसार ठाकुर पक्षका नेताहरले दुई नयाँ दल दर्ताको लागि निवेदन दिएका हुन् ।
स्रोतका अनुसार ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि निवेदन दिइएको हो।
यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक्षतामा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन लगाएका थिए ।
पार्टीको आधिकारिताबारे विवाद निर्वाचन आयोगमा चलिरहेको बेला दुवै पक्षले एक अर्काको पुरानो पार्टी दर्ता गराउन थालेका हुन् । संघीय समाजवादी फोरम नेपाल उपेन्द्र यादव नेतृत्वको पुरानो पार्टी हो । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नयाँ पार्टी हो ।
मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी बीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो । पछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति बीच एकीकरण भएर समाजवादी पार्टी बनेको थियो । सोही समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा बनेको हो ।
यी दुवै पार्टी दर्ता गराएर राख्ने तयारी महन्थ ठाकुरको रहेको छ ।
हाल जसपाको विवाद निर्वाचन आयोगमा पुगेको छ । दुवै पक्षले पार्टी फुटाउन सहमति दिएसँगै विवाद समाधान गर्नको लागि आयोगले इजलास समेत गठन गरेको छ ।