काठमाडौं । प्रधानमन्त्री बन्न तिव्र इच्छा राखेका नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गर्न माग गर्नुभएको छ ।
आइतवार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले संविधान संशोधन गरी राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था गर्न माग गर्नुभएको हो ।
लामो समयदेखि प्रधानमन्त्री बन्न रहर गर्नुभएका नेता गौतम प्रतिनिधिसभा निर्वाचनमा पराजित हुनुभएको थियो । पछि उहाँलाई पार्टीले विवादकै वीच राष्ट्रिय सभा सदस्यमा जिताएको थियो । आफूले चुनाव हारेपनि प्रधानमन्त्री बनेर देश विकास गर्ने अठोट राख्नुभएका उहाँले राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था गर्न माग गर्नुभयो ।
नेपालको संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेको छ।
यसबारे बोल्दै उहाँले भन्नुभयो, ‘मैले पोहोर साल एउटा विषय उठाएको थिएँ। मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो। मैले मानिनँ। त्यसो भए राष्ट्रिय सभामा उठ्नुस्ु भन्नुभयो। मैले उठ्दिनँ भनें, किन उठ्नुहुन्नु भन्नुभयो, मैले भनें –राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचको विभेद अन्त्य गरिदिनुहोस्।’
प्रधानमन्त्रीले कसरी हुन्छ विभेद अन्त्य भनेर सोध्दा आफूले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुहोस, भनेको उहाँले बताउनुभयो।
उहाँले अघि भन्नुभयो, ‘किनभने संसारमा हाम्रो देशमा मात्र बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरूले शासन गर्नु पर्दैन भनेर ठाडो नक्कल भयो। त्यो हटाइदिनुहोस्। संविधान संशोधन गर्नुहोस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो।’
आफू त्यो मागमा अझै पनि स्पष्ट रहेको भन्दै उहाँले भन्नुभयो, ‘म अझ फेरि पनि उठाउन चाहन्छु, यदि राष्ट्रिय सभाको यो हलले मैले भनेको प्रस्ताव मन्जुर गर्छ भने हामीले आज पास गरौं ।’
उहाँले प्रधानमन्त्री चयनको अधिकार राष्ट्रिय सभामा हुनेबित्तिकै बजेटसमेत राष्ट्रिय सभामा पेश हुन सक्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सडकमा प्रस्तुत हुन सक्ने राष्ट्रिय सभाले मान्नुपर्ने तर राष्ट्रिय सभा संघीय संसदको अभिन्न अंग हो त्यसमा छलफल गर्न सक्ने क्षमता यहाँ छ। विचार विमर्श गर्न सकिन्छ, यो मेरो माग हो।’
प्रतिनिधिसभा अस्थायी र राष्ट्रिय सभा स्थायी भएकाले पनि राष्ट्रिय सभामा बजेट पेस गर्ने व्यवस्था संविधानमा हुनुपर्ने गौतमको तर्क थियो ।
यसपटक एमालेले चुनावमा तय गरेका योजनाअनुसार नै अर्थमन्त्रीले बजेट ल्याएको गौतमको भनाइ थियो । विगतमा अर्थमन्त्री युवराज खतिवडा हुँदा घोषणापत्र अनुसार बजेट नआएको पनि उहाँले बताउनुभयो ।
चुनावमा समाजवादको निम्ती जनतामा घोषणापत्र लिएर गएको र त्यो घोषणापत्र लेख्नका निम्ती ३ महिना समय बिताएको गौतमले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘घोषणापत्र लेख्नको निम्ती मैले ३ महिना लगाएको छु । त्यहाँ समय लगाउन नपरेको भए मैले चुनाव जितेर आउने थिएँ ।’
प्रतिनिधिसभा विघटनसम्बन्धि सर्वोच्च अदालतले फैसला गरेपछि पार्टी एकीकृत हुने उहाँको भनाई छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू रहेको कार्यदल समस्या समाधानका लागि सिंहदरबारमा छलफल भइरहेका बेला उपाध्यक्ष गौतमले राष्ट्रिय सभाको बैठकमा उक्त कुरा बताउनुभयो ।