काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।
सर्वाेच्च अदालतले संसद विघटन बदर गर्दै प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएसँगै बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको स्रोतले बतायो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दिउँसो २ बजे ओलीले सम्बोधन गर्न लाग्नुभएको हो ।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको थियो। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेको बताइएको छ ।
नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ। तर बैठक बस्ने नबस्ने अहिलेसम्म एकिन भएको छैन।
देउवाले आजै ५ बजे शपथ लिने तयारी गर्नुभएको छ । सानो मन्त्रिमण्डल बनाउने र मन्त्रीहरु ककसलाई बनाउने भन्ने विषयमा दलहरुले छलफल गरिरहेका छन् ।