काठमाडौं । ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन्।
विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधवार बिहान विशेष अदालतमा हाजिर भएका हुन् ।
अदालतमा उनको बयान हुने छ। त्यसपछि थुनछेक हुनेछ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यीमध्ये पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, छविराज पन्त हाजिर भएका छन्। विशेषले जोशीलाई साधारण तारेखमा रिहा गर्यो भने पन्तसँग पाँच लाख धरौटी माग गरेको थियो। तर गच्छदार भने फरार थिए।
गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार उपस्थित नभई फरार थिए। उनको नाममा पुनः म्याद जारी गरेको थियो। अदालतले दोस्रो पटक गच्छदारको काठमाडौंको स्थायी ठेगानामा म्याद जारी गरेको थियो।
यसअघि सुनसरीमा म्याद तामेल भएको थियो। तर, उक्त तामेल अवधिमा उपस्थित नभएपछि विशेष अदालतको इजलासले पुनः काठमाडौंको स्थायी ठेगानामा म्याद तामेल गर्न आदेश गरेको थियो। उक्त आदेशपछि काठमाडौंको स्थायी ठेगानामा तामेल गरिएको थियो।
गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।