Homeब्रेकिङ न्युजदेउवा नेतृत्वको सरकारमा कुन दललाई कति मन्त्रालय ?

देउवा नेतृत्वको सरकारमा कुन दललाई कति मन्त्रालय ?

Sagun Sandesh

काठमाडौं । नवगठित शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागि दलहरुले पाउने मन्त्रालयको भागवण्डामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् ।

पछिल्लो चरणमा भएका छलफल अनुसार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि सरकारमा सहभागी हुने गरी संवाद अघि बढेको छ। यद्यपि नेपाल समूहले भने तत्काल सरकारमा जाने तयारी नगरेको बताइएको छ ।

नेपाली कांग्रेसका एक नेताका अनुसार सत्ता नेतृत्वकर्ता कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राख्ने भएको छ ।

माधव पक्षलाई सहभागी गराउन गरिएको आन्तरिक छलफल अनुसार माओवादी केन्द्र र जनता समाजवादीले ६ मन्त्रालयका दरले प्राप्त गर्ने भएका छन्। राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गरेपनि मन्त्रिमण्डलमा सहभागी नहुने भएको छ। नयाँ सरकारको कूल मन्त्रिपरिषद्को संख्या २५ जना रहने व्यवस्था छ।

सरकारमा माधव पक्ष सहभागी भएको अवस्थामा ६ मन्त्रालय छुट्याउने तयारी रहेको बताइएको छ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमको नेतृत्वमा माधव पक्ष सरकारमा सहभागी हुने कांग्रेसका एक शीर्ष नेताले दाबी गरे। तर नेपाल समूह तत्काल सरकारमा जाने मनसायमा छैन । आफ्नै समूह भित्र एक ढिक्क हुन नसकेको कारण सरकारमा जानेबारे अझै निर्क्योल नभएको एक नेताले बताए ।

मंगलबार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । साथै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा समेत छलफल भएको थियो ।

प्रचण्डले सोही विषयमा मंगलबारै प्रधानमन्त्री देउवासँग समेत बालुवाटार पुगेर छलफल गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच साझा कार्यक्रम बनाएर प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न दुवै नेता सहमत भएका थिए ।

प्रचण्डसँगको भेटमा भने नेता नेपालले साझा कार्यक्रम बनाएर सरकार सञ्चालन र सफल बनाउन आफ्नो पूर्ण सहयोग रहने बताए पनि आफू तत्काल सरकारमा सहभागी हुनसक्ने अवस्था नरहेको जवाफ दिएको नेपाल निकट स्रोतले जनाएको छ ।

यद्यपि सरकारमा जाने समयमा वामदेव गौतमले उपप्रधानमन्त्रीसहित माधव पक्षको नेतृत्व गर्ने बताइएको छ। तर, गौतमले वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने विषयको खण्डन गरेका छन्। गौतमका स्वकीय सचिव दीपक टमाटाले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चर्चा तथ्यहिन भएको बताएका छन्।

एमालेभित्रको आन्तरिक विवाद समाधान हुने बाटोमा गए माधव समूह सरकारमा सहभागी नहुने बताइएको छ। त्यस अवस्थामा सत्तारुढ तीन दलको भागमा मन्त्रालय थपिनेछ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या तीन भन्दा बढी हुने बताइएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपप्रधानमन्त्रीको दाबी गर्ने भएको छ। महामन्त्री डा शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एकलाई उपप्रधानमन्त्रीसहितको मन्त्रालय दाबी गर्ने निर्णय गरेको छ। पौडेल पक्षका नेताहरुको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

यता मन्त्रालय बाँडफाँडमा हतारो नगर्ने गठबन्धनका नेताहरुले बताएका छन् । दीर्घकालीन कार्यक्रम सार्वजनिक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने उनीहरुको तयारी छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय