Homeब्रेकिङ न्युजचीनबाट थप भेरोसेल खोप काठमाडौं आइपुग्यो

चीनबाट थप भेरोसेल खोप काठमाडौं आइपुग्यो

Sagun Sandesh

काठमाडौं । चीनबाट कोरोनाविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बेइजिङबाट थप आठ लाख खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताउनुभयो ।

उहाँका अनुसार खोप ल्याएको निगमको जहाज आजै राति फेरि थप खोप लिन बेइजिङ उड्दैछ । आज बेइजिङ जाने जहाज भोलि दिउँसो २ बजे काठमाडौं फर्कने उहाँले बताउनुभयो ।

त्यस्तै बाँकी थप खोप लिन पुनः शनिबार वाइडवडी जहाज बेइजिङ जाने कार्यक्रम रहेको छ । नेपाल सरकारले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज भेरोसेल खोप खरिद गरेको हो ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ। नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन्।

सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय