काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई बधाई दिन संसद्मा आयोजित बैठकका वक्ताहरुको जवाफ दिँदै आफूले गरेका वाचाहरु पूरा गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूलाई प्राप्त भएका सुझावहरुका लागि धन्यवाद दिदै आफूले विश्वासको मत दिन आग्रहमात्र गरेको उल्लेख गर्दै अनुरोध गर्न पनि नपाउने ? भनी प्रश्न गर्नुभयो ।
देउवाले ऋण लिएरै भएपनि सबै जनतालाई खोप दिने भन्दै भन्नुभयो, ‘हामीले गरेका वाचा पूरा गरेर छाड्छौँ, खोप हाम्रो प्रतिबद्धता हो, त्यो जसरी पनि पूरा गरिछाड्छौँ’ ।
देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्याउने प्रतिवद्धता पूरा गर्छौं ।’
प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष पाँच सात महिना मात्र रहने भन्दै उहाँले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताउनुभयो ।
प्रमुख प्रतिपक्षीदल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टीभित्र अनुशासन चाहिने तर अरु दलभित्र अनुशासन नचाहिने यो कस्तो प्रणाली हो ? टिप्पणी गरेपछि देउवाले बैठकमा उपस्थित हुन भनेको तर ह्वीप भने नलगाएको बताउनुभयो ।
उहाँले संसदमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभएको थियो ।