काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठित शेर बहादुर देउवा सरकारले अहिलेबाटै दादागिरी देखाउन थालेको बताएका छन् ।
आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकारलाई प्रतिगामीको संज्ञा समेत दिए ।
उनले भने, ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो, यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’
२०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको ओलीले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भनेर एमाले नेताकै हैसियतमा सहभागी माधव नेपाललाई बेसरमको संज्ञा दिए ।
ओलीले भने, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ । अनि पाँच दलीय गठबन्धन भनेर एमालेकै नेताको रूपमा सहभागी भएको छ । यो भन्दा बेसरम के हुन्छ ?’
अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएकोले यसलाई प्रतिगमनकारी सरकार भन्नुपर्ने बताए ।
ओलीले विकासप्रेमी कम्युनिस्ट सरकारलाई ढाल्नका लागि स्वार्थी, लोभीपापी, महत्त्वाकांक्षी, बिकाउ माल प्रयोग गरेर पार्टीभित्र अन्तरकलह सिर्जना गरिएको आरोप समेत लगाए ।
‘कहिले दक्षिणपन्थीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिकोमा गएको छ, कहिले अदालतमा गएर हस्ताक्षर गरेको छ । अनुशासहीनता र अराजकता प्रदेश प्रदेशमा पुगेको छ,’ ओलीले भने ।