काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल अर्थात वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट प्राध्यापक डाक्टर जागेश्वर गौतमलाई हटाएको छ। डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. गौतमलाई उक्त स्थानबाट हटाएर थापाथलीस्थित प्रसूति तथा स्त्री रोग अस्पतालमा पठाइएको छ ।
डा. गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो।
उक्त अस्पतालको जिम्मेवारी सम्हालेदेखि गौतम विवादमा तानिएका थिए। सोमबार पनि उक्त अस्पतालका स्वास्थ्यकर्मीसहितका कर्मचारीले गौतमलाई कार्यालयमा छिर्न निषेध गर्दै धर्ना दिएका थिए।
सरकारले ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश अनुरुप वीर अस्पताल, ट्रमा सेन्टर र वीरको नयाँ सर्जिकल भवनलाई समेटेर ‘कोभिड–१९ एकीकृत केन्द्रीय अस्पताल’ बनाएको थियो।
स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मा मन्त्रालयकै तत्कालीन स्वास्थ्य समन्वय महाशाखा प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहेका गौतमलाई दिइएको थियो।
डा गौतमले उक्त अस्पतालका कर्मचारीको मागबारे छलफल गर्न खोज्दा प्रहरी झिकाएर स्वास्थ्यकर्मी र कर्मचारीमाथि कुटपिट गराएको आरोप लागेको थियो।