काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दार्चुला घटनाबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसदहरूले उठेर विरोध गरे । त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानबिन समिति गठनको माग गर्नुभएको छ ।
साथै उहाँले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी)लाई मानव हत्या गरेको अभियोगमा कारबाहीको माग गर्नुभएको छ ।
‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस, दोषी एसएसपीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्‚’ उहाँले भन्नुभयो ।
सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानबिन समिति बनाएर बसेको भन्दै एमालेले विरोध जनाएको छ । ‘युद्धमा पनि ज्यूजान जोगाउनु मानवीय धर्म हुन्छ । तर, जयसिंह धामीको हत्या भएको छ ।
सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानबिन समिति बनाएर बसिरहेको छ‚’ ठगुन्नाले भन्नुभयो ।