Homeब्रेकिङ न्युजदार्चुला घटनामा आवश्यक कदम चाल्न सरकार प्रतिवद्ध छः गृहमन्त्री खाँड

दार्चुला घटनामा आवश्यक कदम चाल्न सरकार प्रतिवद्ध छः गृहमन्त्री खाँड

Sagun Sandesh

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुला घटनाबारे गठित समितिको प्रतिवेदन आउने वित्तिकै आवश्यक कदम चाल्न सरकार दृढ रहेको प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विभिन्न दलका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँडले सत्यतथ्य बुझ्ने काम भइरहेकाले समितिले दिने प्रतिवेदनमा टेकेर सरकारले उपयुक्त निर्णय गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर व्यास २ का ३३ वर्षीय जयसिंह धामी वेपत्ता भएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार, भारतीय सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा काट्दा धामी महाकालीमा खसेर बेपत्ता भएका हुन् ।

उक्त घटनाविरुद्ध दार्चुला प्रहरीमा उजुरी ने परेको छ । घटनाबारे सत्यतथ्य बुझ्न गृह मन्त्रालयबाट सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समिति छानबीनका लागि घटनास्थलतर्फ गइसकेको भन्दै गृहमन्त्री खाँडले धामीभन्दा पहिले र पछि तुइन तर्न लागेका मानिसलाई सोधपुछका लागि दार्चुला सदरमुकाम बोलाइएको जानकारी दिनुभयो ।

त्यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले घटनाबारे जानकारी माग गर्दै औपचारिक रूपमा भारतसँग विरोध जनाउन माग गरेको थियो ।

गृहमन्त्री खाणले तुइन तर्ने क्रममा बेपत्ता भएका धामीलाई अहिलेसम्म फेला नपारिएको र खोजी क्रम जारी रहेको भन्दै तुइनको ठाउँमा झोलुंगे पुल छिटो बनाउने र त्यहाँसम्म पुग्ने सडक निर्माण गरिने पनि प्रतिवद्धता पनि जनाउनुभयो ।

बैठकमा बोल्ने सबै दलका सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँडसँग घटनाको सत्य तथ्य के हो जस्ताको तस्तै सार्वजनिक गर्न माग गरे । सरकारले भारतसमक्ष आफ्ना नागरिकमाथि गरिएको अमानवीय घटनाको विरोधसमेत गर्न नसकेको भन्दै आपत्ति जनाए ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गरेर घटनाबारे प्रष्टीकरण लिनुपर्ने बताए । उनीहरुले घटनाको सत्य तथ्य छानबीनका लागि संसदीय समिति बनाउन पनि माग गरे ।

कर्मचारी तहको समिति गठन गरेर समस्याको समाधान नहुने भन्दै सत्ता र विपक्ष दुबैतर्फका सांसदहरुले कूटनीतिक र राजनीतिक वार्तामार्फत् समाधान खोज्न सुझाव पनि दिएका छन् ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय