काठमाडौं । बेलायतको प्रधानमन्त्री कार्यालय गरी भोक हड्तालमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनको विषयमा पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
सांसद सूधन किँरातीले प्रतिनिधिसभाको मंगलवारको विशेष बैठकमा बोल्दै १३ दिने रिले अनशन समाप्त गरी अघिल्लो शनिवारदेखि भोक हड्ताल शुरू भएको विषय उठान गर्दै यसबारे पहल लिन सरकारको ध्यानाकर्षण गराए ।
उनले यो कुनै क्षेत्र समुदायको सवाल नभई असमान सन्धीका कारण नेपाली गोर्खालीहरुमाथि विभेद भएको भन्दै ती असमान सन्धीहरु खारेज गर्न माग गरे ।
‘बेलायतमा यतिबेला भूपू गोर्खाहरु समानता र न्यायको संघर्षलाई निरन्तरता दिने शिलशिलामा १३ जना भिसी पाउने अग्रजहरुको सम्मान र सम्झनामा १३ दिने रिले अनशन समाप्त गरी विगत केही दिन देखी आमरण अनशन बसिरहेको समाचार छ’, उनले भने, ‘यो कुनै क्षेत्र र समुदायको विषयको सवाल होइन, बरु त्रिपक्षीय असमान सन्धीले उत्पन्न गरेको राष्ट्रिय स्वाधीनताको सवाल हो ।’
२१ औँ शताब्दिमा पनि मान्छेहरुलाई बेलायतले भेडा जस्तै गरेको भन्दै उनले ती गोर्खालीहरुको मागलाई सम्बोधन गर्नको निम्ती पहल गर्न आग्रह गरे ।
उनले वर्तमान गठबन्धन प्रतिपक्षमा हुँदा असमान सन्धी खारेज गर्न चर्काे नारा लगाएको भन्दै अब सरकारका हुँदा ती असमान सन्धी खारेज गरेर देखाउन चुनौति दिए ।
१९९७ अघि र पछीका गोर्खालीमाथि असमानता थोपरिएको भन्दै उनले उक्त समय जबरजस्ती हस्ताक्षर गराइएको बताए ।
उनले भने, ‘घरमा हुँदा बाघ निती, बनमा हुँदा बिरालो निती मूर्दाबात!’
लण्डनमा गत शनिवारबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घलेले भोक हड्ताल शुरू गरेका छन् । आफूहरुका मागहरु सम्बोधन नभएसम्म उनीहरुले आफ्नो हड्ताल नतोड्ने बताएका छन् ।