काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले तयार गरेको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषयमा केही नबोलेको भन्दै सरकारको आलोचना गरेका छन् ।
उनले एमसीसीबारे आफूले बोेलेका क्लिपहरु लिएर चर्चा मात्र गरिएको तर साझा कार्यक्रममा एमसीसीको बारेमा किन केही नभनेको भन्दै प्रश्न गरे ।
उनले १६५ सांसदको समर्थन रहेको कारण पास गर्न कुनै समस्या नरहेको भन्दै सोधे, ‘सम्माननीय प्रधानमन्त्री ज्यू, एमसीसी के गर्नुहुन्छ ?’
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समस्या भनिएकोमा समेत रोष प्रष्ट गरे ।
उनले भने, ‘के कालापानी, लिपुलेक हाम्रो समस्या हो ? यो त हाम्रो पवित्र भूभाग हो । समस्या हो भने त छोडिदिए समाधान होला नि । के भनेको छोडिदिए त समाधान होला नि त समस्या भए ? स्पष्ट रुपमा भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौँ भनेर किन भन्न नसकेको ?’
उनले सरकार भारतसँग डराएको भन्दै आलोचना गरे ।
‘ठोकेर भन्नुस त एमसीसीबारे के हो जवाफ ? भन्नुस लिम्पियाधुरा, कालापानी लिपुलेक जमिन भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भनेर ।’ उनले भने ।