काठमाडौँ । सरकारले अफगानिस्तानमा फसेका नेपालीहरुलाई छिटो भन्दा छिटो उद्धार गर्न राज्यका सबै शक्तिहरुको प्रयोग गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालीहरुलाई सकुशल रुपमा छिटो उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले भने, अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल र शीघ्र उद्धार गर्ने, नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक कार्य अगाडि बढाउन निर्देशन दिने निर्णय भएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताएका थिए।
सुरक्षा र उद्धार प्रतिक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व रहको प्रधानमन्त्रीको भनाई थियो।
उनले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन तथा अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन गरिसकेको समेत जानकारी दिएका थिए।
तालिबान लडाकुले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका नेपालीहरु उद्धारको पर्खाइमा छन्। केही नेपालीहरुलाई अमेरिकाले उद्धार गरेर दोहा पुर्याएको छ। अफगानिस्तानमा कति नेपालीहरु छन् भन्ने यकिन तथ्यांक सरकारले सार्वजनिक गरेको छैन।
यस्तै सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका बाँकी रहेका समस्या सम्बोधन गर्न प्रक्रिया अगाडि बढिसकेको समेत जनाएको छ ।
‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र कुटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भुपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, कानुन मन्त्री समेत रहको कार्कीले भने ।