रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले दुई सांसदमाथि गरेको कारवाही मान्य नहुने प्रदेशसभा सचिवालयले बताएको छ ।
एक स्वतन्त्र सांसद अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न एमालेले प्रदेशसभा सचिवालयमा पत्राचार गरेको थियो । तर सचिवालयले भने एमालेलाई पत्र पठाउँदै सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारिएको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।
आफूले पत्र पठाएर कारबाहीसम्बन्धी विवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।
प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।
ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
उनका अनुसार एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ ।
पत्रमा सांसद विमला वलीको हकमा एमाले र माओवादी केन्द्र दुवैले अनुसूची ७ को फारममा आफ्नो सदस्य रहेको विवरण लेखेका छन् भने अजय शाहीको हकमा भने एमालेले आफ्नो सदस्य रहेको विवरण सचिवालयमा बुझाएको थियो ।
सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ ।