Homeब्रेकिङ न्युजजबजलाई मानेर अघि बढ्छौं: माधव नेपाल

जबजलाई मानेर अघि बढ्छौं: माधव नेपाल

Sagun Sandesh

काठमाडौं । दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीको घोषणापत्रमा नेता नेपालले तत्कालीन नेकपालाई सर्वोच्च अदालतले मान्यता नदिएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिए पनि अध्यक्ष ओलीले जेठ २ को एमाले केन्द्रीय कमिटी बैठक नबोलाई ‘केन्द्रीय कमिटीको विशेष बैठक’ नाम दिएर आफ्नो पक्षको मात्र बैठक बोलाएर नवौँ महाधिवेशनका निर्णयहरू उल्ट्याइ पार्टी विभाजन गर्न खोजेको बताइएको छ ।

ओलीको कारण नै पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै उक्त पार्टीले अब जनताको बहुदलीय जनवाद (जबज) मानेर अघि बढ्ने समेत घोषणा गरेको छ ।

‘पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यस्तो पहल गर्नुपर्दथ्यो, तर त्यस्तो पहल नगरी केन्द्रीय कमिटीको विशेष बैठक भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो पक्षको मात्र बैठक बसी नेकपा एमालेको नवौँ महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्नेजस्ता निर्णयहरू गरी नेकपा एमालेलाई विभाजन गरिदिए’, नेता नेपाल नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को घोषणापत्र २०७८ मा भनिएको छ ।

नेता नेपालले आफ्नो पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद भएको पनि घोषणापत्रमा दाबी गरेका छन् ।

‘यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा,आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिका जस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतामा प्रतिबद्ध रहेको छ’ नेता नेपाल नेतृत्वको समाजवादी पार्टीको घोषणापत्रमा भनिएको छ, ‘जनताको बहुदलीय जनवादका मूल्यमान्यताहरुको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहन्छ ।’

त्यस्तै, नेता नेपालको पार्टीले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवादलाई नै बनाएको छ । सो पार्टीले मार्क्सवादलाई कुनै जडसुत्र नभएर गतिशील वैज्ञानिक सिद्धान्त भएको पनि जनाएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय