काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएकोमा गृह मन्त्रालयले आपत्ति जनाएको छ ।
गृह मन्त्रालयले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी जुलुस प्रदर्शन गर्ने र पुत्ला जलाउने जस्ता क्रियाकलाप नगर्न समेत भनेको छ ।
गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिवधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गर्ने समेत चेतावनी दिएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिवधि पति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’
विज्ञप्तिमा भारतीय प्रधानमन्त्री मोदीको नाम उल्लेख गरिएको छैन । यद्यपि, दुई दिनअघि काठमाडौंमा मोदीको पुत्ला जलाइएको सन्दर्भमा यो विज्ञप्ति जारी गरिएको बुझिएको छ । विज्ञप्तिमा मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएका र भविष्यमा पनि यही गरिने उल्ल्लेख छ ।
गृह मन्त्रालयले शुक्रवार पनि यस्तै खालको विज्ञप्ति प्रकाशित गरी मित्रराष्ट्रको विरोध नगर्न आग्रह गरेको थियो । त्यस्तो विरोध गर्नेको सूक्ष्म निगरानी गरिएको मन्त्रालयले बताएको थियो ।