Homeकला र संस्कृतिअमेरिकन आइडलमा दिवेश पोखरेलको उपविजेतासम्मको यात्रा

अमेरिकन आइडलमा दिवेश पोखरेलको उपविजेतासम्मको यात्रा

Sagun Sandesh

काठमाडौं । चर्चित गायन रियालिटी सो ‘अमेरिकन आइडल’को १८ औं संस्करणको उपाधि जस्ट सामले जितेकी छिन् । यता नेपाली मूलका युवा दिवेश पोखरल भने प्रतियोगिताको उपविजेतामै चित्त बुझाउन पुगेका छन् । अमेरिकाको स्थानिय समय अनुसार आइतबार साँझ भएको ग्रान्ड फिनालेमा गायक पोखरेलले कम भोट पाएका कारण उपविजेतामा सिमित हुनु परेको हो । यद्यपि दिवेशले पहिलो पटक अमेरिकामा आयोजित चर्चित गायन रियालिटी शो मा आफ्नो उपस्थितिलाई बिलियो रुपमा प्रस्तुत गर्दै इतिहास रचेका छन् ।

दिवेशले प्रतियोगिताको ग्रान्ड फिनालेमा क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याव यु एभर सिन द रेन’ र ग्याभिन डिग्राको ‘आइ डन्ट वान्ट टु वि’ बोलको गीत प्रस्तुत गरेका थिए । सोही समय प्रतियोगिताको विजेता छनोटका लागि भएको दुई घण्टाको भोटिङ अवधिमा जस्ट सामले धेरै भोट प्राप्त गरेपछि दिवेश उपविजेतामा खुम्चिएका हुन् । यद्यपि उनलाई १८ औं संस्करणको अमेरिकन आइडलका उत्कृष्ट गायकका रूपमा निर्णायक तथा दर्शकले लिइसकेका छन् ।

काठमाडौंको रविभवनमा जन्मिएका दिवेश सन् २०१४ मा उच्च शिक्षाका लागि भन्दै अमेरिका पुगेका थिए । उनले गत दुई वर्ष यता संगीत क्षेत्रमै समय खर्चिरहेको बताँउदै आएका छन् । प्रतियोगिताको अडिसन राउण्डबाट नै यस वर्षका निर्णायकहरू लुक ब्रायन, केटी पेरी र लिओनेल रिचीले दिवेशको प्रस्तुति अवाजा र आत्मविश्वासको सम्मान गर्दै हौसला प्रदान गर्दै आएका थिए । उनलाई निर्णायकहरूले प्रायजसो प्रतिक्रियामा नेचुरल (प्राकृतिक) आवाजको धनि र राइजिङ स्टारको रूपमा पनि व्यख्या गर्दै आएका थिए ।

आर्थर गनको उपनामले चिनिएका दिवेशका कारण अमेरिकाको चर्चित गायन रियालिटी शो मा नेपालको चर्चा भएको भन्दै अधिकांश नेपालीले खुशी व्यक्त गरेका थिए ।

अमेरिकाको कान्सास विचिटामा रहँदै आएका २२ वर्षिय गायक दिवेश गायनसँगै लेखन तथा संगीत गर्नमा पनि सफल छन् । उनको आफ्नै रचनामा तयार ‘न्यानो घर’, ‘मन’, ‘समुन्द्र पारी’, ‘कर्णाली’, ‘प्रलय ए’, ‘प्रलय बी’ लगायत नेपाली गीत उनको अफिसियल युट्युव च्यानल आर्थर गनमा गएर हेर्न सकिन्छ ।

(केन्द्रबिन्दुबाट साभार)

Sagun Sandesh

भर्खरै

लोकप्रिय