काठमाडौं । चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष दयाराम दाहाल भएका छन्। उनलाई बिहिबार बसेको मन्त्री परिषद्को बैठकले नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। उनी चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र लेखक, निर्देशक तथा गीतकार हुन्।
विकास बोर्डका पूर्व अध्यक्ष केशव भट्टराईको आकस्मिक निधनपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा अध्यक्ष पदका लागि दशजनाले आवेदन दिएका थिए। दाहाल सहित जम्मा तीन जनाको नाम मात्र मन्त्री परिषदमा पुगेको थियो। जसमा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो।
काभ्रे पलाञ्चोकमा जन्मिएका दाहालले स्नातकसम्मको अध्ययन गरेका छन्। दाहाल साहित्यमा पनि आवद्ध छन्। उनीद्वारा लिखित ‘शब्द संग्राम’ कविता, ‘समाधि’ कथा संग्रह प्रकाशन भईसकेको छ भने उपन्यास ‘कालो आकाश’ र ‘दियो मुनिको अध्यारो’ गीत गजल संकलन प्रकाशनको प्रक्रियामा रहेको छ।
दाहालले ठूल्दाई, तँ त सारै बिग्रीस नि बद्री, दशगजा, नेपाल तथा म तिमी बिना मरिहाल्छु जस्ता चलचित्रमा काम गरेबापत राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन्। गीत, गजल लेख्ने उनीले गीतमा स्वरहरु पनि दिएका छन्।