एजेन्सी । रसियाली एएन–२६ विमान दुर्घटनामा सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । हिजो बिहान २२ जना यात्रुसहित २८ जना बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनामा परेको हो ।
प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
विमानस्थलमाथिको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो
त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको अधिकारीहरूले बताएका छन् ।
विमानमा एक बालकसहित २२ जना यात्रु र छ जना चालक दलका सदस्य सवार थिए । रसियाको अनुसन्धान समितिले पाइलटको गल्ती, प्रतिकूल मौसम वा प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको विषयमा केन्द्रीत भएर अनुसन्धान शुरु गरेको छ ।