काठमाडौं । तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् ।
तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति घानीले भन्नुभएको छ – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’
उहाँले आफ्नो फेसबुक पेजमा देश छोड्नु परेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताउनु भएको छ । तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको पनि बताउनु भएको छ ।
यस्तै, उहाँले तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने पनि उल्लेख गर्नु भएको छ । उहाँले लेख्नु भएको – ‘तालिबानले देश र देशवासीको नाम र सम्मानको रक्षा गर्ने छन् कि अरु क्षेत्र वा नेटवर्कलाई प्राथमिकता दिने छन् ।’
धेरैमा तालिबानलाई लिएर विश्वास नरहेको अवस्थामा सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौती रहेको पनि घानीले बताउनु भएको छ ।
तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले हिजाे अफगानिस्तान छाड्नु भएकाे हाे । घानी अफगानिस्तानबाट ताजकिस्तान वा उज्वेकिस्तान गएकाे अनुमान छ ।