Homeजापान विशेषकोरोनाका कारण गुल्मीका प्रेमको जापानमा मृत्यु

कोरोनाका कारण गुल्मीका प्रेमको जापानमा मृत्यु

Sagun Sandesh

कोरोना संक्रमणका कारण उपचार गराईरहेका प्रेम (कृष्ण) केसीको जापानमा मृत्यु भएको छ । नेपालबाट जापान आउनेक्रममा नारिता बिमानस्थलमा कोरोना परिक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि उपचार गराउँदै आउनु भएका गुल्मी मुसीकोटका ४८ बर्षिया केसीको उपचारका क्रममा २२ दिन पछि मृत्यु भएको हो।

कोरोना संक्रमणबाट फोक्सोमा गम्भिर असरले केसिको मृत्यु भएको बताइएकाे छ । केसिको जुन ९ तारिख बुधवार मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार नेपालमा कोरोना संक्रमणबाट जेठो छोराको मृत्यु पछी केसी परिवार सहित नेपाल जानुभएको थियो ।

नेपालबाट जापान फर्कने क्रममा नेपालमा काेराेना जाँच गराउँदा काेराेना पाेजेिटभ देखिएका कारण मृतककी श्रीमती नेपालमा रोकिएपछि मृत्यु हुने केसी कान्छो छोरासंगै जापान आउनु भएको थियो । जापान नारिता बिमानस्थलमा गरिएको पिसिआर परीक्षणमा बाबुछोरालाई नै कोरोना पोजेटिभ देखिएपनि कान्छाे छोरा हप्तादिनमै निको भएर घर फर्किनु भएको थियो ।

औपचारिक रुपमा कोरोनाका कारण जापानमा नेपाली नागरिकले ज्यान गुमाएको यो पहिलो घटना हो । यस अघि कोरोना संक्रमणका कारण एक नेपालीको मृत्युभएको भएपनि उहाँ भारतीय राहदानी वाहक भएको खुल्न आएको थियो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय