काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौँ उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ । सँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ ।
त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ ।