काठमाडौं । नेकपा एमाले विभाजनको अवस्थामा साथ नदिएका नेता भीम आचार्यले प्रदेश १ को मुख्यमन्त्रीमा साथ दिन गरेको आग्रहलाई प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अस्वीकार गरेका छन् ।
एमाले विभाजनको संघारमा अध्यक्ष केपी शर्मा ओलीले नेता आचार्यलाई प्रदेश १ को मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए । भदौ २ गते पार्टी विभाजन हुँदा नेता नेपाललाई एक्लै छोडेर कित्ता परिवर्तन गरेका आचार्यलाई माधव नेपाल पक्षका नेताहरुले साथ नदिएमा उनी मुख्यमन्त्री बन्न मात्र सक्दैनन्, अहिलेका मुख्यमन्त्री शेरधन राईको पद समेत जाने सम्भावना छ ।
अब माधव नेपाल पक्षका नेता राजेन्द्र राई मुख्यमन्त्रीको दाबेदार हुन् । उनको दलले प्रमाणपत्र पाउनासाथ उनी सम्भवतः मुख्यमन्त्री बन्नेछन् ।
तर नेता नेपालको पार्टीमा आएको खण्डमा आचार्यको मुख्यमन्त्री बन्ने सपना साकार हुनेछ । उनी मुख्यमन्त्री बन्ने कुरामा कुनै समस्या नै नहुने नेता राईले यसअघि नै बताइसकेका छन् ।
यस विषयमा सहयोग माग्न नेपालको सहयोग माग्नका लागि आचार्य शनिबार बिहान नेपालको कोटेश्वरस्थित निवास नै पुगेका थिए। तर, उनलाई सघाउने विषय अहिले सम्भव नरहेको जवाफ नेता नेपालले दिएको उनीनिकट स्रोतले जनाएको छ।
त्यसैले आफ्नो टिममा र ओली पक्षसँगको सल्लाहमै नेपाललाई भेट्न आचार्य कोटेश्वरस्थित उनकै निवास पुगेका थिए।
नेता नेपालको सचिवालयले पनि आचार्य नेपाललाई भेट्न आएको पुष्टि गरेको छ।
शनिबार बिहान भीम आचार्य आचार्य नेपाललाई भेट्न आएको नेपालका स्वकीय सचिव मोहन गौतमले पुष्टि गरे ।
स्रोतका अनुसार नेता नेपालले सुरूमै भेट्न आउनुको कारण आचार्यलाई सोधेका थिए। आचार्यले केही भूमिका बाँधेर ‘मेरो नेता हिजो पनि तपाईं हो, आज पनि तपाईं हो’ भनेपछि नेपाल बिच्केका थिए। ‘आज सम्मको नभन्नुस्, आजदेखि उताको हो भन्ने हो भने व्यवहार हेरेर विचार गरौंला’, नेता नेपालले उनलाई भने ‘यसबीचमा तपाईंले कहाँ(कहाँ मेराविरूद्ध के(कति गतिविधि गर्नुभयो, म सबै जानकार छु।’
एमालेका विवाद उत्कर्षमा पुगेका बेला नेपालनिकट मानिने नेता आचार्य भने आश्चर्यजनक रूपमा फेरिएको प्रदेश १ का सांसद बताउँथे।
‘उहाँ हाम्रो समूहको प्रदेशको सर्वोच्च नेता, उहाँकै लागि भनेर हामी निरन्तर लड्ने गर्दै आयौं’, नेपाल पक्षधर एक सांसदले भनेका थिए, ‘उहाँ भने निरन्तर विभिन्न बैठकमा नेता नेपालकै आलोचना गर्दै हिँड्ने गर्न थाल्नुभएको थियो। माधव कमरेडलाई यसबारे हामीले पहिल्यै जानकारी दिएका थियौं।’
नेपालले दल विभाजन प्रक्रिया सुरू गरेपछि पनि आचार्य नेपालप्रति आक्रामक रूपमा पेश हुँदै आएका थिए।
सोही कारण पनि नेता नेपाल उनी प्रति असहिष्णु भएका हुन् ।