काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवशेन भदौ १८ मै हुने भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि वडा अधिवेशन भदौ १८ मै हुने सहमति जुटेको पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
यस्तै क्रियाशील सदस्यसम्बन्धी विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरूको माग सम्बोधन गर्दै रिले अनशन तोड्न लगाउने र हाधिवेशनको वातावरण तयार गर्ने समझदारी समेत बनेको छ ।
सभापति देउवासँग कुराकानी गरेपछि पौडेल समूहले शनिबार आफूनिकटका नेता तथा जिल्ला सभापतिहरुसँग सिंहनिवास चाक्सीबारीमा छलफल गरेको थियो ।
देशभरका ६ हजार ७ सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बताए । उनकाअनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गरेका थिए ।
अहिलेसम्म ४८ जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक भएको छ भने अन्य जिल्लाको पनि चाँडै सार्वजनिक हुने बताइएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुनेगरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन् ।