काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराउनुभयो । एकीकृत समाजवादी केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी भएको अध्यक्ष नेपालको भनाइ छ ।
उहाँले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको पनि बताउनुभएको छ ।
उहाँले ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान गर्नुभयो । केपी ओलीहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।
अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गर्नुभयो । यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि आज नै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।