काठमाडौं । निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि सुनुवाई आज स्थगत भएको छ ।
न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दाको सुनुवाई हुने भनिएपनि एकल इजलास नबस्ने भन्दै उक्त रिटको सुनुवाई स्थगन गरिएको हो ।
आजै खड्काको संयुक्त इजलास पनि रहेको र शुक्रबार परेकाले एकल इजलास नबस्ने जानकारी दिइएको पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए ।
बुधबार एमालेले सर्वोच्च अदालतमा निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।
निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ । त्यसैगरी सभामुख अग्नि सापकोटाले कारवाही गरेका एमाले सांसदहरुको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गरिएको छ ।
एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेका ९ जना र निवेदनमा हस्ताक्षर नगरेका ६ जनालाई सनाखत गराएर नेकपा एसलाई दलको मान्यता दिएको भन्दै ओलीले सो निर्णय खारेजीको माग गरेका छन् ।
त्यस्तै सभामुख अग्नि सापकोटाले एमालेले सांसद पदबाट निष्कासन गरेका १४ जनामाथिको कारवाही असंवैधानिक रुपमा रोकेर राखेको भन्दै ओलीले माधव नेपालसहित १४ र झलनाथ खनालसमेतको सांसद पद खारेजीको माग समेत गरेका छन् ।