Homeब्रेकिङ न्युजएमालेको विवाद समाधान कार्यदलमा रहेका दोस्रो तहका नेताहरु छलफल जारी

एमालेको विवाद समाधान कार्यदलमा रहेका दोस्रो तहका नेताहरु छलफल जारी

Sagun Sandesh

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलमा रहेका दोस्रो तहका नेताहरुले शनिवार पनि छलफल र दौडधूपलाई तिव्र बनाएका छन् ।

अहिले ललितपुरको कुपण्डोलस्थित होटल समिटमा दुवैपक्षका नेताहरुबीच छलफल चलिरहेको हो ।

वार्तामा अध्यक्ष ओली पक्षबाट उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र शंकार पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट सहभागी छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई तीन दिनभित्र हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि एकताका सबै सम्भावना सकिएको चर्चा हुनथालेको थियो। वरिष्ठ नेता माधवकुमार नेपालपक्षले त्यसको कुनै अर्थ नभएको भन्दै ओलीपक्षले गरेको निर्णय अवैध भएको टिप्पणी गरेको थियो।
शुक्रबारको बैठकअघि नेपालपक्षका वार्तामा रहेका केही नेताले दुई तीन दिन बैठक सार्न गरेको आग्रह ओलीले अस्वीकार गरेका थिए। बरु, बैठकबाट गरेका निर्णयलाई वार्तामा सहभागी नेताहरुले नै वातावरण बिथोल्ने कदम भनेका थिए।

भोलिपल्टै नेताहरुले फेरि एमाले एकता जोगाउन सकिन्छ कि भनेर छलफल शुरु गरेका हुन्। अन्तिमसम्म पनि एकताको प्रयत्न नछाड्ने भन्दै आफूहरुले छलफललाई निरन्तरता दिएको एक नेताले बताए।

सहमतिका लागि तयार पारिएको मस्यौदामा अध्यक्ष ओली सहमत भए पनि वरिष्ठ नेता माधव नेपाल सहमत भइसकेका छैनन् । वरिष्ठ नेता नेपाललाई मनाउन पार्टी उपमहासचिव भुसाल नेपालनिवास कोटेश्वर पुगेको बताइएको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय