काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथि भइरहेको सुनुवाईको क्रममा आइतवार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजिनामा दिनै नमिल्ने हो र भन्दै प्रश्न उठेको छ ।
वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नपर्ने हो भन्दै प्रश्न उठाउनुभएको हो ।
हालसम्म प्रधानमन्त्री राजीनामा गरेको भनेर कुनै धारामा नसुनिएको भन्दै उहाँले प्रधानमन्त्रीले राजीनामा दिएर मात्र बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ७६ (५) मा जान प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु भयो कि अवरुद्ध गर्नुभयो ? पत्रकार सम्मेलन गरेर दाबी गर्दिनँ, बहुमत छैन, चलाउन मन छैन भन्ने अनि अरु भन्दा अघि आफैं जाने? यो मार्ग अवरुद्ध हो ।
उहाँले अघि भन्नुभयो, केपी ओलीमा सत्ताको स्वाद बस्यो अनि उहाँले छोड्न सक्नु भएन। हालसम्म उहाँले राजीनामा गर्नु भएको कुनै पनि धारामा सुनिएन। उहाँले चाहिँ राजीनामा दिन नपर्ने हो ?
प्रधानमन्त्री ओलीको यो कार्यप्रति प्रश्न उठाउन पाइने न्यौपानेले तर्क गर्नुभयो ।उहाँले भन्नुभयो, उपधारा २ राजनीतिक दलको र प्रतिनिधि सभाको सदस्यले उपधारा ५ अनुसार दाबी गर्ने हो। यो बहुदलीय व्यवस्था त हो तर, सांसदहरुको व्यक्तिगत स्वतन्त्रा छैन र ?
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीहरूले बहस गरिरहेका हुन् ।
सभामुखका कानुन व्यवसायीलाई बहसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासले २ घण्टाको समय दिएको छ । सभामुखका कानुन व्यवसायीको बहसपछि रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहसका लागि ३ घण्टा समय छुट्याइएको छ ।
यो मुद्दामा एमिकस क्युरीले पनि आफ्नो राय दिनेछन् । एमिकस क्युरीमा रहेका चार जनाले बहसका लागि २ घण्टा समय पाएका छन् ।