Homeब्रेकिङ न्युजकाँग्रेसले मतदाताको मापदण्डमा परिवर्तन गर्याे, अब क्रियाशिल सदस्यले पालिकामा नेता छान्न नपाउने

काँग्रेसले मतदाताको मापदण्डमा परिवर्तन गर्याे, अब क्रियाशिल सदस्यले पालिकामा नेता छान्न नपाउने

Sagun Sandesh

काठमाडौं । नेपाली कांग्रेसले पालिका अधिवेशनमा क्रियाशिल सदस्यले सहभागि हुन नपाउने गरी विधान संशोधन गरेको छ ।

अब पालिकामा नेता छान्दा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै भोट गर्न पाउने भएका छन् । यसअघि कांग्रेसको विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो ।

आसन्न महाधिवेशनबाट अनुमोदन गराउने गरी विधानमा संशोधन गरेको कांग्रेसले जनाएको छ । अब गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्यले चुन्न पाउने छैनन् ।

काँग्रेसले भनेको छ, ‘विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः ‘गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा ‘गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ ।

विधान अनुसार एक सय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट कम्तिमा तीन महिनासहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यस्तै १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा थप दुई महिलासहित ६ जना प्रतिनिधि चयन गर्न पाउने प्रावधान छ । कोरोनाको जोखिम नघटेको र विभिन्न जिल्लामा निषेधाज्ञा पनि जारी भएको अवस्थामा थोरै उपस्थित हुन मिल्ने गरी विधानको व्यवस्थामा संशोधन गरिएको कांग्रेसले जनाएको छ ।

पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ(नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरिएको छ।

सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न पाउँछन्। यसका लागि मतदाता भने वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेस महाधिवेशन गराउने निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिका केन्द्रीय सदस्यहरुको सुझाव समेट्ने गरी पारित भएको हो । कांग्रेसले समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई परिमार्जनको जिम्मा दिएको हो । उनीहरुले भदौ १ गते निर्देशिकामा परिमार्जन गरेर भदौ २ गते पार्टी सभापतिलाई बुझाउनुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबार कार्यतालिका सार्वजनिक गरेको छ ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय