Homeब्रेकिङ न्युजबागलुङमा घरेलु मदिरा खाएका चार जनाको मृत्यु, दुई बिरामी

बागलुङमा घरेलु मदिरा खाएका चार जनाको मृत्यु, दुई बिरामी

Sagun Sandesh

बागलुङ । बागलुङमा घरेलु मदिरा खाएका चार जनाको मृत्यु भएको छ भने दुई जना बिरामी छन् ।
गलकोट नगरपालिका–७ मल्ममा गएराति घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी परेका थिए । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा चार जनाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

१४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको खवर आएको थियो ।

घटनाको बिषयमा थप अनुसन्धान हुने हवारीले बताउनुभयो । अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताउनुभयो । रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ ।

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

Sagun Sandesh

भर्खरै

लोकप्रिय