काठमाडौं । वि. सं. २०७६ साल नेपाली क्रिकेट क्षेत्रमा केही परिवर्तनको वर्ष रहेपनि नतिजाका हिसाबमा खासै सुखद रहन सकेन। यसैवर्षको असोज १० र ११ मा भएको साधारण सभाबाट नेपाल क्रिकेट संघ क्यानले नयाँ नेतृत्व पायो। विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीकै पहलमा साधारण सभा भई नयाँ नेतृत्व चयन भएपछि असोज २७ गते आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध करिब साढे तीन वर्षपछि फुकुवा गर्यो।
क्यानले मात्रै नभई यस वर्ष नेपाली क्रिकेट टिमले पनि नयाँ नेतृत्व पायो। आईसीसीले क्यानका प्रतिबन्ध फुकुवा गरेको भोलिपल्टै लामो समय नेपाली टोलीको कप्तानी सम्हाल्दै आएका पारस खड्काले कप्तानको जिम्मेवारीबाट अलग भएको घोषणा गरे। कार्तिक १३ गते त्यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेट टोलीका नयाँ कप्तान बने। यस वर्ष केही नेपाली खेलाडी केही व्यक्तिगत राष्ट्रिय तथा अन्तराष्ट्रिय कीर्तिमान भने बनाए। वर्षको मध्य र अन्त्यतिर खेलाडीले केही कीर्तिमान बनाएका हुन्।
कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने विश्व कीर्तिमान बनाए। उनले आफ्नो डेब्यू खेलमै अमेरिकाविरुद्ध विश्व कीर्तिमान बनाएका हुन्। उनले यसअघि रोहितकुमार पौडेलको नाममा रहेको उक्त कीर्तिमान मल्लले तोडे।
साल २०७६ मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गर्ने नेपाली क्रिकेटर बने। उनले फागुन १७ गते मलेसियाविरुद्ध भएको खेलमा ३ विकेट लिँदै टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका हुन्।
सन्दीपले हालसम्म ७७ टी-२० क्रिकेट खेलमा १०५ विकेट लिएका छन्। उनको बलिङ इकोनमी ६.९२ रहेको छ।नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा कप्तानले शतक प्रहार गर्ने विश्व कीर्तिमान बनाएका छन्। गत असोज ११ गते भएको खेलमा सिंगापुरले दिएको १५१ रनको लक्ष्य पछ्याउने क्रममा पारसले उसकै घरेलु मैदानमा १०६ रनको पारी खेलेका थिए। उनी ५२ बलको सामना गर्दै नटआउट रहेका थिए।
२०७६ मा नेपाली क्रिकेटरका कीर्तिमानहरू
१. एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतकको विश्व कीर्तिमान
खेलाडी – कुशल मल्ल
रन – ५०
उमेर – १५ वर्ष ३४० दिन
खेल – आईसीसी विश्व क्रिकेट लिग-२
प्रतिद्वन्द्वी – अमेरिका
मैदान – त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
मिति – माघ २५
२. टी-२० क्रिकेटमा सय विकेट लिने नेपालीको कीर्तिमानी
खेलाडी – सन्दीप लामिछाने
खेल संख्या- ७५
जम्मा विकेट – १०१
कीर्तिमान बनाउँदाको प्रतिद्वन्द्वी- मलेसिया
मैदान – टेर्डथाई क्रिकेट मैदान, थाइल्यान्ड
३. टी-२०आईमा लक्ष्य पछ्याउँदा कप्तानले शतक पूरा गरेको विश्व कीर्तिमान
खेलाडी – पारस खड्का
रन – १०६
प्रतिद्वन्द्वी – सिंगापुर
मिति – असोज ११
४. अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालका लागि एकै इनिङमा सर्वाधिक रन जोड्ने कीर्तिमान
खेलाडी – ज्ञानेन्द्र मल्ल
रन – १०७
प्रतिद्वन्द्वी – भुटान
खेल – १३ औं साग
मैदान – त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
मिति – मंसिर १९
५. शून्य इकोनमी (कुनै रन बिना) मा सर्वाधिक विकेट लिने विश्व कीर्तिमान
खेलाडी – अञ्जली चन्द
विकेट संख्या – ६
प्रतिद्वन्द्वी – माल्दिभ्स
मैदान – पोखरा रंगशाला
मिति – मंसिर १६
(साभारः अन्नपूर्ण पाेष्ट)