काठमाडौं । युरोकपको उपाधि इटालीले जितेको छ ।
वेम्बलीमा भएको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा पराजित गरेर इटालीले उपाधि उचालेको छ ।
५५ वर्षपछि प्रमुख उपाधि उचाल्ने इंग्ल्याण्डको सपना टुटेको छ । निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।
दोस्रो मिनेटमा ल्यूक शको गोलबाट घरेलु टोली इंग्ल्याण्डले अग्रता लियो । तर त्यसपछि इटाली खेलमा फर्कियो । ६७ औँ मिनेटमा लियोनार्दो बोनुचीले इटालीका लागि बराबरी गोल गरे ।
अतिरिक्त समयमा दुवै तर्फबाट गोल हुन सकेन । त्यसपछि टाइब्रेकरमा गएको खेलमा नतिजा इटालीको पक्षमा गयो ।
इंग्ल्याण्डका पाँच मध्ये तीन पेनाल्टीमा गोल हुन सकने । ह्यारी केन र ह्यारी मागुइरीले मात्रै गोल गर्न सके । इटालीका लागि डोमेनिको बेरार्दी, लियोनार्दो बोनुची र फेदेरिको बेर्नार्देस्कीले टाइब्रेकरमा गोल गरे ।
उपाधि जितेको इटाली लगातार ३४ खेलमा अपराजित छ । उ सन् २०१८ को सेप्टेम्बर यताका कुनै पनि खेलमा पराजित भएको छैन ।
युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो।